E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कञ्चनपुरको घटियाघाटमा जलेको शवको पहिचान खुल्यो

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाटमा मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक बेल्डाँडी गाउँपालिका–३ निवासी ५० वर्षीय हरिकिसन राना रहेका छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार राना मंगलबार बिहान साढे ४ बजे भारतको कलकत्ता जानका लागि मोटरसाइकलमा घरबाट निस्किएका थिए। सोही दिन बिहान उनी घटियाघाट क्षेत्रमा जलेको अवस्थामा फेला परेका थिए भने नजिकै उनको मोटरसाइकल पनि जलेको अवस्थामा थियो।

घटनापछि अनुसन्धानका लागि स्वयं एसपी जोशी घटनास्थल पुगेका छन्। साथै नेपाल प्रहरीको धनगढीस्थित कुकुर शाखाबाट तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। प्रहरी अनुसन्धानलाई थप सशक्त बनाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक सहयोग समेत लिने तयारी भइरहेको एसपी जोशीले जानकारी दिए।

यस घटनाले रहस्यमय मोड लिएको छ भने प्रारम्भिक अनुसन्धानबाट हत्या आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!