राजावादी समर्थकद्वारा जडीबुटी उत्पादन कम्पनीमा आगजनी, २८ करोडको क्षति

२०८१ सालको चैत १५ गते शुक्रबार राजावादी समर्थकद्वारा गरिएको तोडफोड र आगजनीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा २८ करोड रुपैयाँको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। कम्पनीको महाप्रबन्धक संगीता यादवका अनुसार, आगजनीबाट कम्पनीको स्वचालित उपकरण र भवनहरु जलेर ध्वस्त भएका छन् र उत्पादन ठप्प भएको छ।
महाप्रबन्धक यादवले भने, “सबै जलेर खरानीमा परिणत भएको छ। कम्पनी विभिन्न चुनौतीका बीच प्रगति गरिरहेको थियो। हामी शाखा विस्तार गर्दै थियौं र नयाँ उत्पादनहरू बजारमा ल्याउने तयारीमा थियौं। अब हामीलाई कम्पनीलाई पुनः सञ्चालन गर्न सबैको सहयोग आवश्यक छ।”
कम्पनीले हाल अस्थायी संरचनामा उत्पादन सुरु गर्ने योजना बनाएको छ र यसका लागि सरकारले १० करोड रुपैयाँ सहयोग दिने आशा गरिएको छ। यादवका अनुसार, वन मन्त्रालयसँग यसका लागि सहयोगको माग गरिएको छ।
संचो तेल र अन्य उत्पादहरु, जसका लागि कम्पनी प्रसिद्ध छ, अहिले विदेशमा पनि निर्यात हुँदै आएका छन्। जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्वीडेन लगायतका देशहरूमा सञ्चो तेल निर्यात गर्दै आएको छ। यो कम्पनी ७० प्रतिशत महिला कर्मचारीका साथ सञ्चालन भइरहेको छ र स्थानीय समुदायलाई रोजगारी दिने काम पनि गरिरहेको छ।
महाप्रबन्धक यादवले भने, “हामी केवल उत्पादन मात्र होइन, मूल्य सञ्चितिको काम पनि गर्दै छौं। यदि उत्पादन रोकियो भने विदेशी प्रतिस्पर्धीहरूले बजारमा आफ्नो प्रभाव बढाउनेछन्।”
कम्पनीको पुनः उत्थानका लागि विभिन्न सरकारी निकाय र संस्थासँग समन्वय गर्दै यादवले भने, “यो सरकारको गर्व गर्नुपर्ने संस्था हो, र यसलाई पुनः खडा गर्न सरकारको सहयोग अत्यन्तै आवश्यक छ।”
यो कम्पनी २०३८ सालमा सरकारी स्वामित्वमा स्थापना भएको थियो र २०५६ सालदेखि सञ्चो उत्पादन गर्दै आएको छ। २०८१ सालदेखि आधुनिक स्वचालित प्रविधिमा सञ्चो उत्पादन शुरु भएको थियो।
कम्पनीले आफ्नो उत्पादन लाइनलाई व्यवस्थित र निरन्तर राख्नका लागि सरकारसँग सहयोगको आग्रह गर्दै छ।