E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

लुम्बिनी प्रदेशमा चट्याङ र हावाहुरीले एक किशोरीको मृत्यु, सरकारी भवनसहित व्यापक क्षति

रुपन्देही — बुधबार राति आएको हावाहुरीसहितको वर्षा र चट्याङले लुम्बिनी प्रदेशभर व्यापक क्षति पुर्याएको छ। चट्याङ लागेर रोल्पामा एक १५ वर्षीया किशोरीको मृत्यु भएको छ भने विभिन्न ठाउँमा सरकारी र निजी संरचनामा क्षति पुगेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दानबहादुर कार्कीका अनुसार रोल्पा नगरपालिका–१० कुटिबाङ घर भई सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी ती किशोरीको घटनास्थलमै मृत्यु भएको हो।

प्राकृतिक प्रकोपका कारण बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको टिनको छानो उडाएको छ भने पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको छानोसमेत हावाले उडाइदिएको छ। यी दुवै भवन तत्काल प्रयोगयोग्य नरहेको प्रहरीले जनाएको छ।

रोल्पाको गंगादेव गाउँपालिका, अर्घाखाँचीको पाणिनि गाउँपालिका, र बाँकेको सुर्खेत रोड क्षेत्रमा पनि हावाहुरीले जनधनमा क्षति पुर्याएको जानकारी प्राप्त भएको छ। सुर्खेत रोडको बीच भागमा रोपिएका बोटबिरूवा ढलेका छन्, जसले सडक आवागमनमा समेत असर पारेको छ।

बर्दियाको मधुवन नगरपालिका–१ स्थित शंकर रावलको फुसले छाएको एकतले घरमा चट्याङले आगलागी भई पूर्ण रुपमा जलेको छ।

यसैगरी, पाल्पाको तानसेन नगरपालिका–६ मा सञ्चालित एक महोत्सवमा रहेका स्टलहरू हावाहुरीले भत्काएको छ। डीआईजी कार्कीका अनुसार प्रदेशका १२ वटै जिल्लामा क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रदेश प्रहरी कार्यालयले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै विपद् व्यवस्थापनमा सुरक्षाकर्मीलाई खटाइएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!