E-Paperसंसार

जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला एक नेपालीसहित २७ जनाको मृत्यु

काठमाण्डौ – भारतको जम्मु-कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगामको बैसारनमा मंगलबार भएको आतंककारी आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको छ। भारतीय मिडिया दैनिक भाष्करका अनुसार आक्रमणमा एक नेपाली, एक युएई नागरिक र दुई स्थानीयसहित २७ जनाको मृत्यु भएको छ।

मृतकमध्ये नेपाली नागरिकको पहिचान सन्दिप न्यौपानेको रूपमा गरिएको छ। दैनिक भाष्करले सार्वजनिक गरेको मृतकको विवरणमा सन्दिप न्यौपानेको नामसँगै उनको देश नेपाल उल्लेख गरिएको छ। मृतकको सूचीमा बितन अधिकारी नामक व्यक्तिको नाम पनि समावेश गरिएको छ, तर उनको राष्ट्रियता खुलाइएको छैन। अधिकारी थर भएकाले कतिपयले दुई नेपालीको मृत्यु भएको आशंका गरेका छन्। यद्यपि हालसम्म सरकारी रुपमा एक नेपालीको मृत्यु पुष्टि भएको छ।

घटना जम्मु-कश्मीरको प्रसिद्ध पर्यटकीय स्थल बैसारनमा भएको हो, जुन पहलगामबाट करिब ६ किलोमिटरको दूरीमा पर्दछ। प्राकृतिक सुन्दरताका कारण ‘मिनी स्विट्जरल्यान्ड’ भनेर चिनिने यस स्थानमा घुम्न आएका पर्यटकहरुलाई लक्षित गरी आक्रमण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मंगलबार आतंककारी समूहले पर्यटकहरुलाई नियन्त्रणमा लिएर नाम सोध्दै–सोध्दै गोली प्रहार गरेका थिए। घटनामा नेपाल र युएईका नागरिकसहित भारतका गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाबाट आएका पर्यटकहरू मारिएका छन्। केही मिडियाले मृतक संख्या २६ उल्लेख गरे पनि दैनिक भाष्करले २७ जनाको मृत्यु भएको जनाएको छ।

यस आक्रमणपछि भारतभर सुरक्षा सतर्कता बढाइएको छ। दिल्ली र मुम्बईजस्ता प्रमुख सहरहरूमा विशेष सुरक्षा निगरानी राखिएको छ।

आक्रमणको खबर आएसँगै साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किन लागेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!