E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

गैँती–कोदालोको बलमा बनेको सडकमा कालोपत्रे, गाउँमा विकासको लहर

बैतडी – तीन वर्षसम्म स्थानीय बासिन्दाले गैँती, कोदालो र झम्पलको भरमा खनेको देहिमाण्डौँ–गिरेगाडा सडक अहिले कालोपत्रे बनेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ३२ किलोमिटरमध्ये १५ किलोमिटर सडकमा कालोपत्रे कार्य सम्पन्न गरेसँगै गाउँमा विकासको नयाँ अध्याय सुरु भएको छ।

यो सडक निर्माण सन् २०१० देखि २०१३ सम्म जर्मन सहयोग नियोग (GIZ) को आर्थिक र प्राविधिक सहकार्यमा सम्पन्न भएको थियो। परियोजनामा करिब सात हजार स्थानीय बासिन्दा २६० समूहमा बाँडिएर प्रत्यक्ष सहभागी थिए।

सडक निर्माणमा आधुनिक मेसिन प्रयोग गरिएको थिएन। पाखुराको बलमा बनाइएको सडक अहिले कालोपत्रे भएर मोटर सरर गुड्न थालेको दृश्यले गाउँलेलाई गर्वका साथै सहजता दिएको छ।

कार्यक्रमका क्रममा दैनिक मजदुरले ३–५ किलो चामल, १ किलो दाल र ५०० रुपैयाँ नगद पाउने व्यवस्था थियो। देहीमाण्डौँका सामाजिक अगुवा जनकराज जोशीका अनुसार, तीन वर्षमा गाउँमा झण्डै डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार भयो।

यो सडक हाम्रो भाग्यरेखा हो जोशीले भने सडकले रोजगारी दिएपछि भारत जाने युवा गाउँमै अडिए।

सडक निर्माणसँगै GIZ को सहयोगमा ४० वटा सिँचाइ कुलो, ग्वाल्लेक र देहिमाण्डौँमा १० वटा तथा मेलौली नगरपालिकामा २७ वटा विद्यालय भवन, साथै पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा खानेपानी योजनाहरू समेत निर्माण गरिएका छन्।

गाल्लेकका वडाध्यक्ष मोहन जोशीका अनुसार कालोपत्रे भएपछि गाउँमा कृषि, पशुपालन र फलफूल खेतीतर्फ आकर्षण बढेको छ। पहिले भारत जाने मजदुर अहिले गाउँमै बसेर बाख्रापालन, ओखर र टिमुरखेतीमा लागेका छन्, उनले भने।

सडक निर्माणपछि देखिएको सामाजिक र आर्थिक रूपान्तरणले यो परियोजना सुदूरपश्चिमकै नमुना विकास परियोजनाका रूपमा स्थापित भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!