वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन

काठमाडौं — नेपाली पत्रकारिता क्षेत्रका अगुवा तथा वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार साँझ उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो।
रिसालको निधन साँझ ८ बजे भएको उनका पारिवारिक सदस्यले जानकारी दिएका छन्। लामो समयदेखि अस्वस्थ रहेका पत्रकार रिसाल पछिल्लो समय अस्पतालमा उपचाररत थिए।
नेपालको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका रिसालले मृत्यु पश्चात आफ्नो शरीर चिकित्सा अध्ययनका लागि दान दिने निर्णय गरेका थिए। सोही अनुरूप उनको शव ललितपुरस्थित पाटन अस्पताललाई हस्तान्तरण गरिएको छ।
उनका भाइ पुरु रिसालका अनुसार, भैरव रिसालले जीवनभर समाजका लागि योगदान दिने अठोट राखेका थिए, र शरीरदान पनि त्यसैको निरन्तरता हो।
पत्रकारिता क्षेत्रका एक प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिने रिसालको निधनले देशले एक अग्रज पत्रकार गुमाएको छ।