जम्मु–कश्मीर आक्रमणप्रति नेपाल सरकारले गर्याे कडा निन्दा

काठमाण्डौ – छिमेकी भारतको जम्मु–कश्मीरस्थित पर्यटकीय स्थल पहलगाममा मंगलबार भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको छ।
परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा पर्यटकमाथि लक्षित गरी भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित नेपाल सरकारले भारत र त्यहाँका नागरिकहरूसँग ऐक्यबद्धता व्यक्त गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि छुट्टाछुट्टै वक्तव्य जारी गर्दै आक्रमणको निन्दा गरेका छन्। राष्ट्रपति पौडेलले निर्दोष पर्यटकहरूलाई लक्षित गरी गरिएको हिंसात्मक गतिविधिलाई पूर्णतः निन्दनीय ठहर गर्नुभएको छ।
प्रधानमन्त्री ओलीले आतंकवादविरुद्धको अभियानमा नेपाल भारतको साथमा रहेको जनाउँदै घटनामा एक नेपाली नागरिकको ज्यान गएको सार्वजनिक विवरणको पुष्टि गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ। उहाँले यस्तो अमानवीय घटनाले दक्षिण एशियाली क्षेत्रको शान्ति र स्थायित्वमा असर पुर्याउने बताउनुभयो।
परराष्ट्रमन्त्री देउवाले आक्रमणलाई विवेकहीन हिंसा भन्दै गम्भीर निन्दा गर्नुका साथै घटनामा नेपाली नागरिकको मृत्यु भएको विषयमा आधिकारिक पुष्टि जुटाउन प्रयास भइरहेको र विवरण प्राप्त हुनासाथ अद्यावधिक जानकारी सार्वजनिक गरिने उल्लेख गर्नुभएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार जम्मु–कश्मीरको बैसारन क्षेत्रमा भएको सो आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा युएईका नागरिकसहित भारतका विभिन्न राज्यका पर्यटकहरू पनि रहेका छन्।
बैसारन पहलगामबाट करिब ६ किलोमिटर टाढा पर्ने अत्यन्त सुन्दर स्थल हो जसलाई मिनी स्विटजरल्याण्ड पनि भनिन्छ। आक्रमणपछि भारतभर उच्च सतर्कता अपनाइएको छ।
साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनापछि आफ्नो भ्रमण छोट्याउँदै स्वदेश फर्किने निर्णय लिनुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।