E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

धरानको जंगलमा मृत फेला परेकी महिला हत्या प्रकरणमा परिवारका ४ जना प्रहरी नियन्त्रणमा

धरान– धरानस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या प्रकरणमा संलग्नताको आशंकामा प्रहरीले मृतकका परिवारका चार सदस्यलाई नियन्त्रणमा लिएको छ।

गत सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ को सामुदायिक वन क्षेत्रमा एक अज्ञात महिलाको शव फेला परेको थियो। विस्तृत अनुसन्धानपछि बिहीबार ती महिला धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–२ निवासी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी भएको खुलेको हो।

प्रहरीका अनुसार चुनकुमारीको हत्या पूर्व योजनाबद्ध ढंगले भएको आशंका गरिएको छ। घटनास्थलको अवस्था र शवको अवस्थामा देखिएको विभत्सता तथा अर्धनग्न अवस्था हत्या पश्चात शव लुकाउने प्रयासको संकेत गर्दछ।

धनकुटा घर भएकी चुनकुमारी पछिल्लो दुई वर्षदेखि १३ वर्षीय छोरासँग इटहरीमा डेरा गरी बस्दै आएकी थिइन्। उनका श्रीमान् प्रेमबहादुर बुढाथोकी हाल वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा छन्।

प्रहरी स्रोतका अनुसार मृतकको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको र परिवारभित्रै सम्पत्ति सम्बन्धी विवाद रहेकाले हत्यामा परिवारका सदस्यहरूको संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाइएको हो। सोही सन्दर्भमा मृतकका देवर, देउरानीसहित चार जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ। यद्यपि, प्रहरीले हालसम्म उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।

घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले शव फेला परेको दिनदेखि अनुसन्धान तीव्र बनाइएको जानकारी दिए। उनका अनुसार घटनाबारे स्पष्ट तथ्य बाहिर ल्याउन सोधपुछ जारी छ।

जंगलमा घाँस काट्न गएका स्थानीय गोठालोले महिलाको शव लसुनेको रुखको फेदमा अडेस लगाएर राखिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको अवस्था हेर्दा हत्या गरी जंगलमा छाडिएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीले घटनाको प्रकृति र पारिवारिक पृष्ठभूमिका आधारमा अनुसन्धानलाई गम्भीर रूपमा अघि बढाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!