सुदूरपश्चिममा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको पहल

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेश सरकारका मन्त्री, सचिव, चारै सुरक्षा निकायका प्रमुख तथा प्रदेश अन्तर्गतका कार्यालय प्रमुखहरूसँग उच्चस्तरीय बैठक गरेका छन्। बैठकमा शान्ति सुरक्षाको अवस्था, भन्सार चेकजाँच, सीमापार आवागमन सहजीकरण, राजस्व संकलन र लागुऔषध नियन्त्रण लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
मुख्यमन्त्री शाहले प्रदेशभित्रको शान्ति सुरक्षा चुस्तदुरुस्त राख्न, लागुऔषध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र पर्यटन प्रवर्द्धनमा प्रभावकारी रूपमा लाग्न निर्देशन दिए। साथै, नागरिकलाई राज्यका सेवा–सुविधामा सहज र सम्मानजनक पहुँच सुनिश्चित गर्न सबै सरकारी निकायलाई सचेत गराए।
बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले हाल प्रदेशमा समग्र शान्ति सुरक्षा अवस्था सन्तोषजनक रहेको भन्दै थप प्रभावकारिता ल्याउन समन्वयलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकले शान्ति सुरक्षालाई अझ सुदृढ बनाउन समन्वय र सहकार्यलाई निरन्तरता दिने, मासिक रूपमा सुरक्षा सम्बन्धी बैठक सञ्चालन गर्ने, सीमापार आवागमन व्यवस्थापन, लागुऔषध नियन्त्रण तथा भारत जाने नागरिकको अभिलेख प्रणाली व्यवस्थित गर्न एक समिति गठन गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाश बम, निमित्त प्रमुख सचिव लिलाधर सुवेदी, नेपाली सेना उपरथी प्रकाश देउजा, प्रदेश प्रहरी प्रमुख प्रकाश मल्ल, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक नगेन्द्र प्रसाद दाहाल लगायत सरोकारवाला निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो।