E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार
मोरङको केराबारीबाट ३ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ

मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न एक समूहका २ जनालाई पक्राउ गरिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार, केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न पुगेका मणिराज याक्खा (४४ वर्ष) र डिल्लीकुमार कार्की (३४ वर्ष) पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेको समूहमा केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार रहेका छन् ।
प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरूसँग ३ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
उनीहरूलाई हातहतियार खरखजाना मुद्दामा कारबाही गर्ने तयारी भइरहेको डीएसपी जोशीले जानकारी दिएका छन्।