शिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु तीन जना पक्राउ

कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित यशोधरा सामुदायिक वनमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
मृत्यु हुनेमा गब्दहवा बस्ने २८ वर्षीय समुन्द्र गाहा मगर रहेका छन्। प्रहरीका अनुसार उनी बाख्रा चराउन र शिकार खेल्न जंगल गएका थिए। शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट छुटेको गोली लागेर गाहा मगर गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै उनलाई शिकार खेल्न गएका दुई जनाले भैरहवा मेडिकल कलेजमा पुर्याएका थिए। तर, अस्पताल पुर्याउने वित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले रामबहादुर थारू (३४), राम थारू उर्फ कालु (३६), र प्रवेश थारूलाई पक्राउ गरेको हो। उनीहरू सबै बुद्धभूमि–९, गब्दहवाका बासिन्दा हुन्। प्रवेश थारूले शिकारपछि प्रयोग गरिएको बन्दुक लुकाउन सहयोग गरेको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। घटनास्थलबाट दुई थान भरुवा बन्दुक पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जदत्त भट्टका अनुसार, पक्राउ परेकाहरूमाथि ज्यान कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी छ।