रौतहटको गौरमा भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ

रौतहट – रौतहटको सदरमुकाम गौरस्थित बसपार्कमा भन्सार छलीका अवैध सामान बोकेको टेम्पोसहित एक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
सिमावर्ती भारतीय बजार बैरगनियाबाट ल्याइएको करिब ४ लाख २९ हजार ९२० रुपैयाँ बराबरको कपडा, किराना र भाँडावर्तन लगायतका सामान बोकेको ना २ ह ४६६० नम्बरको टेम्पोसहित परोहा नगरपालिका–४ का ३० वर्षीय उमेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, नियमित गस्ती टोलीले चेकजाँचको क्रममा सोमबार राति टेम्पो र भन्सार छलीका सामग्री बरामद गरेको हो। पक्राउ परेका चालक यादव र टेम्पोसहितका सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित तस्करी नियन्त्रण अभियानअन्तर्गत हालसम्म करोडौँ रुपैयाँ बराबरका भन्सार छलीका सामान, दर्जनौं सवारीसाधन र तस्करहरू पक्राउ गरिएका छन्।
प्रहरीको सक्रियताका कारण विगतको तुलनामा रौतहटमा भारतीय सामानको तस्करीमा उल्लेखनीय कमी आएको जानकारहरूले बताएका छन्।