गेटा आँखा अस्पतालका शाखा प्रमुख लागुऔषधसहित पक्राउ

बाजुरा — गेटा आँखा अस्पतालको बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्।
बानियालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरबाट खैरो हेरोइनसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार नवलपरासीको पालिनन्दन गाउँपालिका–४ निवासी २८ वर्षीय बानिया र त्रिणेवी नगरपालिका–८ बसोबास गर्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई लागुऔषधसहित पक्राउ गरिएको हो।
धनगढीको राजपुरमा बानियाले चलाएको लु प्र प्र ०१००१ प ९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गिरीले बोकेको झोलाभित्र लुकाएर राखिएको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
झोलाबाट प्लास्टिकमा प्याक गरिएको १० ग्राम र प्लास्टिक बाहेक ८ ग्राम ८० मिलिग्राम गरी जम्मा १८ ग्राम ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको डीएसपी बोहराले जानकारी दिए।
हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।