सिंहदरबारभित्रैबाट राप्रपा अध्यक्ष लिङ्देनसहितका सांसदहरू पक्राउ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले सिंहदरबारभित्रैबाट नियन्त्रणमा लिएको छ।
लिङ्देनसँगै राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंह लगायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरू दलको कार्यालयबाट बाहिरिँदै बानेश्वरतर्फ जान लागेको अवस्थामा विरोध जनाएपछि प्रहरीले हस्तक्षेप गर्दै नियन्त्रणमा लिएको जनाइएको छ। पक्राउ परेका नेताहरूले यसअघि नै तीनकुने घटनाको विरोधमा सामूहिक गिरफ्तारी दिने घोषणा गरेका थिए।
राप्रपाले केही दिनदेखि तीनकुने घटनाको न्यायिक छानबिनको माग गर्दै आन्दोलन चर्काएको छ। सोही क्रममा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा पक्राउ परेपछि पार्टीले थप दबाबमूलक कार्यक्रमहरू सार्वजनिक गरिरहेको छ।
प्रहरीद्वारा गरिएको यो कदमप्रति राप्रपा नेताहरूले कडा आपत्ति जनाएका छन्। पार्टीले पक्राउको विरोधमा थप आन्दोलन र दबाब कार्यक्रम घोषणा गर्ने तयारी गरेको जनाएको छ।