E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

२० वर्षअघि ससुराको हत्या गरी फरार वीरबहादुर गुरुङ पक्राउ

दाङ — २० वर्षअघि आफ्नै ससुराको हत्या गरी फरार भएका दाङका एक व्यक्ति प्रहरीको सूचनाका आधारमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति दाङको तुलसीपुर नगरपालिका–७, टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ हुन्।

गुरुङले २०६२ साल साउन १४ गते आपसी विवादमा ससुरा काशीराम विकको हत्या गरी श्रीमतीसहित फरार भएका थिए। त्यसयता उनी १५ वर्षसम्म भारतको लुधियाना र बहराइचमा लुकिछिपी बस्दै आएका थिए। भारतमा उनी गाडी चलाउने काम गर्थे। रोचक कुरा के छ भने उनी पाँच वर्षअघि दाङमै फर्केर प्रहरी हबल्दारका बुवाको पोल्ट्री फार्ममा गाडी चलाउने काम गर्दै खुलेआम बसिरहेका थिए।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले २०८२ साल वैशाख १२ गते गुरुङलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। सो मुद्दाको २० वर्षे हदम्याद आगामी साउन महिनामा सकिन लागिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

डीएसपी ठकुरीले भने, हत्या भएको लामो समय भइसकेकाले सायद उनलाई अब केही हुँदैन भन्ने लागेको थियो होला, तर अपराध जे भए पनि उन्मुक्ति पाइँदैन भन्ने यो उदाहरण हो।

गुरुङविरुद्धको मुद्दा अझै जिल्ला अदालतमा पेन्डिङ अवस्थामा रहेको जनाइएको छ। अब कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि गुरुङलाई अदालतमा उपस्थित गराइनेछ। हदम्याद सकिन केही महिना मात्रै बाँकी रहँदा गरिएको यो पक्राउलाई प्रहरीको सफलताका रूपमा लिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!