E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार
कैलालीबाट हतकडीसहित फरार भएकी महिला भारतको पलियाबाट पक्राउ

कैलाली — मानव बेचबिखन मुद्दामा हतकडीसहित फरार भएकी थुनुवा महिला भारतको पलियाबाट पक्राउ परेकी छन्।
शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट भागेकी ५० वर्षीया मीना शाही दमाइलाई भारतीय सिमानाबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिएका छन्। उनका अनुसार दमाइलाई पलियामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो।
मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाइलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय ल्याइएको बेला उनी हतकडीसहित फरार भएकी थिइन्।
थुनुवा भागेको घटनामा संलग्न रहेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए।
पक्राउ परेकी दमाइलाई हाल पुनः आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।