रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट सर्वोच्च परिसरबाटै पक्राउ

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुनः कैद गर्ने आशयसहित डिल्लीबजार कारागारलाई पठाइएको शंकास्पद पत्र प्रकरणमा सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
विष्टलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको हो। उनको नामबाट पठाइएको पत्र कानुनी प्रक्रिया र औपचारिकता नपुगेको भन्दै शंकास्पद देखिएको स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले उक्त पत्र कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै नयाँ पत्र तयार पार्ने प्रक्रिया अगाडि बढाएको छ। उक्त नयाँ पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी गरिएको छ।
डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीले नयाँ पत्र प्राप्त भएलगत्तै रेशम चौधरीलाई रिहा गरिने बताएका छन्। यो घटनाले रेशम चौधरीको रिहाइ प्रक्रिया र सर्वोच्च अदालतको पत्राचार प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।
थप जानकारी आउँदैछ।