E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

जयगढका आगलागीपीडित घरविहीन राज्यको राहत प्रतीक्षामा

अछामको बान्नीगढी जयगढ गाउँपालिका–स्थित पुरानो जयगढ बजारमा चैत्र २६ गते राति भीषण आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएका २३ घर र ३५ पसलका पीडितहरू अझै राहतको पर्खाइमा छन्। घटना भएको दुई साता बितिसक्दा पनि पीडितहरूले कुनै राहत महसुस गर्न सकेका छैनन्।

घटनालगत्तै प्रदेश सरकारका मन्त्रीहरू राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गरेका थिए। स्थानीय तहले राहत घोषणा गरे पनि वास्तविक सहयोग अहिलेसम्म पीडितको हातमा पुगेको छैन। गाउँपालिका अध्यक्ष टेकबहादुर साउदका अनुसार आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको धनमालको क्षति भएको छ।

भीषण आगलागीबाट आफ्नो पक्की घर डोजर लगाइ भत्काएर बजारको थप क्षति रोक्न भूमिका खेलेकी निर्मला रावल आफन्तको कोठामा शरण लिन बाध्य भएकी छन्। सम्पूर्ण घरजग्गा, भाँडाकुडा, अन्नपात, गरगहना जलेर खरानी भएपछि उनी अहिले घरविहीन भएकी छन्। दस वर्षअघि श्रीमान् गुमाएकी निर्मला गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम गर्दै छोराछोरी पढाइरहेकी थिइन्। अहिले उनी सम्पत्तिविहीन, घरविहीन भएर भन्छिन् नेता र मन्त्रीहरू आश्वासन दिन त आए तर राहत आजसम्म आएन।

त्यसैगरी जयगढ बजारका व्यापारी खगेन्द्र साउदको पनि घर, पसल र गोदाम पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरी र स्थानीय निकायले संकलन गरेको विवरणअनुसार उनको मात्रै एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। अहिले उनको परिवार गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य चौकीको एक कोठामा अस्थायी रूपमा बसिरहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले तत्कालीन राहतस्वरूप ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि गाउँपालिकाले उक्त रकम अझै प्राप्त नगरेको अध्यक्ष साउदले बताएका छन्। उनका अनुसार विभिन्न संघ–संस्थाबाट जम्मा ४ लाख रुपैयाँ जति सहयोग आएको छ, तर प्रदेश सरकारको प्रतिबद्धता अझै कार्यान्वयनमा आएको छैन। केन्द्रीय सरकारतर्फबाट त अहिलेसम्म कुनै चासोसमेत देखिएको छैन।

गाउँपालिकाले अहिले प्राथमिक राहतस्वरूप खाद्यान्न वितरण गरेको र अस्थायी टहरा निर्माणबारे छलफल भइरहेको जनाइएको छ। दीर्घकालीन पुनःस्थापनाबारे भने अझै ठोस निर्णय भइनसकेको जनाइएको छ।

यसबीच, सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुरेन्द्रबहादुर पालले घटनास्थलको निरीक्षण गरेका थिए। तर निरीक्षण र आश्वासनपछि पनि पीडितको अवस्था जस्ताको तस्तै रहेको स्थानीयहरू बताउँछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!