रवि लामिछानेलाई भैरहवा कारागार पठाइयो

पूर्व गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्याइएको छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।
सरकारी विदाका कारण दुई दिन हिरासतमा राखिएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइ थुनुवा पुर्जी जारी गरि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिएका छन्। अब अदालतको फैसला नआउन्जेल उनी सोही कारागारमा रहने छन्।
गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले उक्त आदेश दिएका थिए।
जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश दिने निर्णय गरिसकेको थियो, तर उच्च अदालतले उक्त आदेशलाई बदर गर्दै थुनामा राख्न आदेश दिएको हो। लामिछानेले बुटवलको सुप्रिम सहकारी प्रकरणमा १ करोड धरौटी रकम मागिएको आदेशमा चित्त नबुझाएर उच्च अदालतमा निवेदन दिएका थिए।
उच्च अदालतको आदेशसँगै लामिछानेलाई पक्राउ गरिएको र धरौटी वा थुनाको विकल्पको चयन मुद्दा, आरोपितको कसुरको प्रकृति, घटनाको परिस्थिति र पीडितको अवस्थालगायत विभिन्न पक्षको आधारमा निर्णय गरिएको उच्च अदालतको व्याख्या छ।