E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

अत्तरियामा फेला परेको शवको हत्या डडेल्धुराका जगदीश कैनीको सनाखत

कैलालीको अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा चैत २७ गते (बुधबार) विहान फेला परेको पुरुषको शवको सनाखत भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, हत्या गरेर फालिएको अवस्थामा भेटिएको शव डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पुष्टि भएको हो।

शवको सनाखत मृतकका दाजु राम कैनीले गरेका हुन्। डिएसपी गंगा बहादुर थापाका अनुसार, मृतक कैनी विगत केही समयदेखि परिवारको सम्पर्कमा नरहने गरेका थिए। “उहाँको स्थायी घर डडेल्धुरा भए पनि स्थायी बसोबास गर्ने ठेगाना थिएन,” डिएसपी थापाले भने, “उहाँ कहिले कता त कहिले कता बस्ने गर्नुहुन्थ्यो, मोबाइल समेत नबोक्ने रहेछन्।”

मृतकका दाजुका अनुसार, जगदीशका आमा-बुबा, श्रीमती वा सन्तान कोही पनि छैनन्। परिवारमा दाजु र भाउजू मात्र रहेका छन्।

शवको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अनुहार पूर्ण रूपमा चिन्न नसकिने अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको र शवको पोष्टमार्टमको प्रक्रिया अगाडि बढाइएको डिएसपी थापाले जानकारी दिए।

हत्या गर्ने व्यक्ति वा समूहको पहिचान भने अझै खुल्न सकेको छैन। प्रहरीले घटना सम्बन्धी थप जानकारी संकलन गरिरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!