सर्वसाधारण जनता माथि ट्राफिक को दादागिरि

तिमीलाई पनि खतरा हुन्छ । बरु चुप लागेर बस्दा नै बेस होला ।’
मेरा ट्राफिक साथी यसरी ‘युटर्न’ भएको देख्दा म छक्कै परें । उनको गाडी साहुको व्यवसायप्रतिको ‘सफ्टकर्नर’ रहस्यपूर्ण र टिठलाग्दो थियो । तैपनि मैले झिनो आशा राख्दै सोधें । होइन, हामी जनता गुण्डासँग डराउनु त ठिकै होला तर हाम्रो सेवा–सुरक्षा गर्न खटिएका प्रहरीले नै त्यसो भन्न मिल्ला त ?
उनी नाजवाफ भए र विस्तारै ‘गएँ है’ पनि नभनी जताबाट आएका उतै फर्के । त्यसपछि म पनि चुप लागेर सिटमा गएर बस्न बाध्य भएँ । नेपालमा राजनीतिक संरक्षणमा मौलाएको ‘गुण्डागर्दी’ अनौठो तर डरलाग्दो हुन्छ । त्यो हामी सबैले देखे–भोगेकै कुरा हो ।
उनीहरू जति नै खराब गुण्डा भए पनि सम्बन्धित पार्टी र त्यसका शीर्ष नेताले संरक्षण गरिहाल्छन् दोलखाकै एक गाउँले बुज्रुक भन्छन्, ‘गुण्डा–लफंगा भनेका पार्टीका गहना हुन्, नेताका पाँचवर्षे खेती लगाइदिने र नेताको तिलस्मी भाग्य खोलिदिने जादुगर हुन् ।’ उनको भनाइमा त्यसैले नेताले एक भोट दिने जनतालाई भन्दा यी जादुगरलाई बढी माया गर्छन् ।
त्यसो त गुण्डागर्दी हरेक गरिब देशको ऐंजेरु नै हो । पश्चिमा देशहरूमा राज्य सुदृढ र प्रहरी प्रशासन कानूनी राज्यको बलियो ठेकेदार हुने भएकोले गुण्डा, डन र ग्यांगबाट उनीहरूले ५०औं वर्ष अगाडि नै मुक्ति पाइसके । तर गरिब देशमा त नेताले नै डन चलाउँछन्; विस्तारै डन नै नेता, मन्त्री हुन्छन् ।
आज आफूले गुण्डा भनेर थुनेको मान्छे भोलि माननीय र मन्त्री भएर आइपुग्छ । अनि प्रहरीको आत्मसम्मान र हौसलामा तुषारापात हुँदैन त ? प्रहरीलाई पनि के दोष दिनु खै ? मेरी साथी ढाड र पाखुरा छाम्दै अँध्यारो मुख लगाएर बसेकी थिइन् । मैले उनलाई नदेखे झैं गरें र आफ्नो सिटमा बसें । हामीले लघुताभासका साथ त्यो यात्रा पूरा गर्यौं ।