तीनकुने प्रदर्शनका मुख्य दुर्गा प्रसाईँ र बडिगार्डको १२ दिनको म्याद थप

काठमाडौं — तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईँको हिरासत म्याद थप गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रसाईँसँगै पक्राउ परेका उनका निजी बडिगार्ड दीपक खड्काको पनि १२ दिनकै म्याद माग गरिएको छ। प्रहरीले दुबै जनालाई आज झापाबाट काठमाडौं ल्याएर अदालतमा पेश गरेको थियो।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा प्रदर्शन भएको थियो। सो अभियानको संयोजक प्रसाईँलाई उक्त प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रदर्शनका क्रममा भएको झडप र अराजक गतिविधिको अनुसन्धानका लागि उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको भन्दै प्रहरीले म्याद थपको माग गरेको थियो।