पर्सा सखुवा प्रसौनी गाउँपालिका-४ कार्यालयमा तोडफोड

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका-४ स्थित वडा कार्यालयमा गएराति ५/६ जनाको समूहले तोडफोड गरेको छ। गाउँपालिका अध्यक्ष जसवन्त यादवका अनुसार, उक्त समूहले कार्यालयको ताला फोडेर विभिन्न सामग्रीहरू तोडफोड गरेको र अफिसियल कागजातहरू चोरी गरेको छ।
अध्यक्ष यादवले भने वडा कार्यालयको कुर्सी, टेबल, पंखा र दराज जस्ता सामग्रीहरू तोडफोड भएका छन्। यसका साथै, कागजातहरू चोरी गरेको देखिन्छ। तोडफोड गर्ने समूहमाथि किटानी जाहेरी दिने तयारी भइरहेको छ।
घटनाको अनुसन्धान गर्दै प्रहरीले यसमा संलग्न व्यक्तिहरूलाई पत्ता लगाउने प्रयास गरेको छ। वडाध्यक्ष आरिफ अन्सारीका अनुसार, उनीहरूले भारतीय नागरिकलाई नागरिकता सिफारिस गर्नका लागि दबाब दिइरहेका थिए, र उक्त समूहले यही कारणले रातिको समयमा कार्यालयमा तोडफोड गरेको आशंका गरिएको छ।
वडाध्यक्ष अन्सारीले थप भने ६ महिनादेखि ममाथि नागरिकता सिफारिसको लागि दबाब आइरहेको थियो। त्यसै क्रममा ती समूहले तोडफोड गरेका हुन्। हामी अब मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका छौँ।
पर्सा जिल्लाका एसपी गौतम मिश्रका अनुसार, घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान भइरहेको छ।