दैलेखमा रहस्यमय घटना तीन महिनाकी शिशु वेपत्ता
दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट तीन महिनाकी एक शिशु रहस्यमय तरिकाले वेपत्ता भएकी छन्।
स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढा गए राति करिब ९ बजे बेपत्ता भएकी हुन्। परिवारका अनुसार अज्ञात समूहले योजना अनुसार शिशुलाई उठाएर लगेको हुन सक्ने आशंका गरिएको छ।
बुढा परिवारका सदस्यका अनुसार रातको समयमा घरपछाडि राखिएको खरमा एक्कासि आगो लागेको थियो। आगो निभाउन घरका सबै सदस्य गएका थिए। आगो निभाएर फर्किंदा शिशुलाई सुताएको ठाउँमा बच्चा नभएको देखेपछि परिवार र स्थानीयवासीहरू अचम्मित भएका थिए।
शिशुका काका दीपक बुढाका अनुसार खरमा आगो लगाएर बच्चा अपहरण गरिएको हुन सक्ने आशंका उनीहरूको छ। “घरका सबै सुतिसकेका थियौं। एक्कासि घरपछाडि आगो लाग्यो भनेर सबै जना बाहिर निस्क्यौं। फर्केर हेर्दा बच्चा थिएन, उनले भने।
घटनापछि तत्काल स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले घटनाबारे प्रतिक्रिया दिँदै भने, घटनालगत्तै हामीलाई खबर गरिएको थियो, तुरुन्तै प्रहरी खटिएको छ। अहिले थप अनुसन्धान र खोजी कार्य भइरहेको छ। घटना साँच्चिकै अचम्मको छ।
हालसम्म शिशुको कुनै अत्तोपत्तो लागेको छैन भने प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको जनाएको छ। शिशु सुरक्षित रहोस् भन्ने सबैको कामना रहेको छ।