अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ — लगातारको वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
शुक्रबार साँझदेखि परेको अविरल वर्षाले बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडक अवरुद्ध हुँदा बुटवल, भैरहवा, मुक्तिनाथसहितका गन्तव्यतर्फ जाने सवारीसाधन ठप्प छन्। लामो तथा छोटो दूरीका सवारी चल्न नसक्दा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
मेसिन प्रयोग गरेर पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
सडक अवरुद्ध हुँदा बागलुङ सदरमुकामसँग दक्षिण बागलुङको सीधा यातायात सम्पर्क विच्छेद भएको छ। जैमिनी नगरपालिकाको छिस्ती, जैदी, अर्जेवा, बिनामारे लगायतका स्थानबाट बागलुङ बजार आउजाउ गर्ने सवारी सञ्चालनमा पनि अवरोध भएको छ।