नागढुंगा-नौबिसे सडक राति ११ देखि ३ बजेसम्म बन्द

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–पिप्लामोड सडक खण्ड निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सोमबार (वैशाख २२) देखि वैशाख ३१ गतेसम्म राति सवारी आवागमन चार घण्टाका लागि बन्द गरिने भएको छ। नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना जारी गर्दै राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्ने जनाएको हो।
काठमाडौँबाट बाहिरिने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँ प्रवेश गर्ने सवारीसाधन खत्रपौवा पुलमा रोकिनेछन्। रोकिएका सवारीहरू बिहान ३ बजेपछि मात्र चल्न पाउने सूचनामा उल्लेख छ।
तर, एम्बुलेन्स तथा सुरक्षा निकायका सवारीसाधन भने यस अवधिमा पनि निर्वाध रूपमा चल्न सक्नेछन्।
यात्रुलाई वैकल्पिक मार्गको रूपमा सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक वा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।