कैलालीमा साढे २५ लाख बराबरको भन्सार छलीको सामान बरामद

कैलाली – कैलाली प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएको साढे २५ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बुधबार साँझ कैलारी गाउँपालिका–९ स्थित कोईलही ताल क्षेत्रबाट ती सामानहरू फेला पारिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका कपडा तथा अन्य सामग्रीहरू बरामद गरेको जनाएको छ। बरामद सामग्रीहरूको कुल मूल्य २५ लाख ५४ हजार ४ सय रुपैयाँ बराबरको रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीमा ४ सय थान सुट, १ हजार ५१७ वटा टप्स, ११२ धोती, १० थान पूजाको धोती, २० रोल थान कपडा, १० थान सारी, ५ वटा टावेल, १ रोल ब्लाउजको अस्तर लगायतका सामान रहेका छन्।
भन्सार छली गरेर अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न प्रहरीले चेकजाँच तथा निगरानी कडा पारेको जनाएको छ। बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइने जनाइएको छ।