कांग्रेसले काट्यो विपक्षीको माग – गृहमन्त्रीको न राजीनामा न छानबिन

काठमाडौं — भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिए पनि उनीमाथि न त छानबिन हुने भएको छ, न त राजीनामा नै हुने भएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसले बालुवाटारमा एमालेसँग बसेको बैठकपछि यस्तो निर्णय सार्वजनिक गरेको हो।
बैठकपछि बाहिरिएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पत्रकारहरूसँग भने गृहमन्त्रीमाथि कुनै प्रश्न उठेको छैन, छानबिन समितिको कुरा नै आउँदैन। कर्मचारीमाथिको आरोपका आधारमा मन्त्रीको छानबिन गर्नुको तुक छैन।
उनले थपे राजीनामाको माग गर्ने कुनै कारण छैन। मन्त्रीले जवाफ दिनुपर्ने विषय पनि होइन।
यसैबीच, गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै विपक्षी दलहरूले तीव्र विरोध जनाउँदै आएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठक विपक्षीको विरोधका कारण अवरुद्ध भयो भने बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने चेतावनी दिइएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन।