सवारी चालक अनुमति पत्र अब नेपालमै छप्ने

काठमाडौँ — अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) विदेशमा होइन नेपालमै छापिने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाइको तयारी थालेको छ। आईतबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाबीच भएको छलफलमा देशमै लाइसेन्स छाप्न अनौपचारिक सहमति बनेको हो। छलफलमा सञ्चार सचिव राधिका अर्याल यातायात सचिव केशवकुमार शर्मा लगायतको उपस्थिति थियो।
छपाइ केन्द्रलाई सक्रिय बनाउन सुरुआत गरिएको भन्दै मन्त्री गुरुङले आवश्यक भौतिक, प्राविधिक तयारीका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। कुनै पनि नेपाली कागजात विदेशमा छाप्नु नपर्ने व्यवस्था गर्न चाहन्छौं उनले भने यो राष्ट्रिय स्वाभिमानसँग जोडिएको कुरा हो। यातायातमन्त्री दाहालले पनि लिखित सम्झौता गरेर सहकार्य अघि बढाइने बताए। सरकारले जनतामा विश्वास दिलाउने काम गर्नुपर्छ उनले भने सञ्चार मन्त्रालयसँग मिलेर लाइसेन्स छपाइ अगाडि बढाउनेछौं।
कार्यकारी निर्देशक ढुंगानाका अनुसार अहिले छलफल मात्र भएको र छपाइको मिति तय नभए पनि ३० लाख लाइसेन्स छप्ने सम्भावना रहेको निष्कर्ष निकालिएको छ। दुई वर्षदेखि निष्क्रिय बनेको केन्द्रलाई पुनः सक्रिय बनाउन ढुंगाना नियुक्त भएका हुन्। मन्त्री गुरुङले यही वर्षभित्र छपाइ सुरु गर्ने दाबी गरे। एक–दुई दिनमै सहमति गरी प्रक्रिया अघि बढाउँछौं उनले भने।यो निर्णयले आयआर्जन रोजगारी तथा राष्ट्रिय गौरवका दृष्टिले महत्त्वपूर्ण अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।