म्याग्दीमा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी — म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–७ मा निर्माण भइरहेको २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।
ठूलोखोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजना तीन वर्षअघि सुरु भएको हो। आयोजनाका प्रमुख लोकबहादुर नायकका अनुसार, अहिले आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ। बाँध, डिसेन्डर, मुख्य पाइपलाइन, सर्च साफ्ट, विद्युत् गृह जस्ता पूर्वाधारको काम पूरा भइसकेको छ भने उपकरण जडान र प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।
उनका अनुसार २०८२ साल वैशाखभित्र परीक्षण उत्पादन सुरू गर्ने लक्ष्य राखिएको भए पनि सडक स्तरोन्नतिको कारण ढुवानी अवरुद्ध हुँदा केही ढिलाइ भएको छ। भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका कारण उपकरण ढुवानी गर्न समस्या भएको हो नायकले बताए।
सुगुरथलामा बाँध निर्माण गरिएको छ भने त्यहाँबाट २.९०० मिटर लामो मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइनमार्फत पानी ल्याएर फेदीमा विद्युत् गृह निर्माण गरिएको छ। त्यहाँ अहिले स्विचयार्डको निर्माण कार्य सुरु गरिएको छ।
प्रसारण लाइनको तयारी पनि तीव्र गतिमा भइरहेको छ। फेदीदेखि बन्दीसम्म १४ वटा टावर निर्माण गरी १३२ केभी क्षमताको पाँच किलोमिटर लामो लाइन बिछ्याउने काम भइरहेको छ। साथै, ठूलोखोला–चिमखोला र मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गर्दै, तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत उत्पादन भएको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ।
यस आयोजनाबाट म्याग्दी लगायत आसपासका क्षेत्रलाई ऊर्जा आपूर्तिमा सहयोग पुग्ने विश्वास गरिएको छ।