धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटामा दुर्घटना एकको मृत्यु १४ घाइते

धनकुटा -धरानबाट भोजपुर जाँदै गरेको यात्रुबहाक बस सोमबार बिहान धनकुटा नगरपालिका–६ गोलाई नजिक दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्।
को १ ख २१७७ नम्बरको यात्रुबहाक बस ब्रेक फेल भई सडकबाट तल खस्दा धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बसमा करिब ३० जना यात्रु सवार रहेको र १४ जना घाइते भएका पुष्टि गरे। चारजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जनाइएको छ।
दुर्घटना धनकुटा नगरपालिका–६ गोलाई भन्ने स्थानमा बिहानको समयमा भएको हो। बस भोजपुरतर्फ जाँदै गर्दा ब्रेक फेल भएर अनियन्त्रित हुँदै सडकबाट तल खसेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ। घटनापछि प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा उद्धार कार्य तत्काल सुरु गरिएको थियो।बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।