तनहुँको मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु दुई घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार राति करिब साढे ११ बजे पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो। जीपमा पाँच जना सवार थिए।
दुर्घटनामा व्यास–५ का ३५ वर्षीय प्रविन थापा मगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनीहरूको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। तीमध्ये एकको अवस्था गम्भीर रहेकाले पोखरा रेफर गर्ने तयारी गरिएको छ भने जीप चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको नेपाली सेनाको कालीभञ्जन गण (ई), नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।