E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

मकवानपुरमा बोलेरो जिप दुर्घटना ९ जना घाइते ६ जनाको अवस्था गम्भीर

मकवानपुर — मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८ः१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय कान्द्राङबाट प्रहरी निरीक्षक भरत कुमार खड्काको नेतृत्वमा प्रहरी टोली पुगेर घाइतेहरूको उद्धार गरी मनहरी अस्पताल पठाइएको हो। बोलेरोमा चालकसहित ९ जना सवार थिए।

दुर्घटनामा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिल ब. घलान, ६५ वर्षीया फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूका टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।

त्यसैगरी ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ घाइते भएका छन्। उनीहरूको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने अझै खुलाइएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!