प्रधानमन्त्री मोदी आज रात ८ बजे राष्ट्रलाई सम्बोधन गर्दै

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज राति ८ बजे राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री मोदीको यो सम्बोधन हालै सम्पन्न ‘अप्रेशन सिंदूर’पछि पहिलोपटक हुन लागेको हो।
‘अप्रेशन सिंदूर’ भारतको जम्मु–कश्मीरस्थित पहलगाममा २२ अप्रिलमा भएको आतंकी आक्रमणको प्रतिकारस्वरूप भारतीय सेनाले पाकिस्तान र पाकिस्तानअधिकृत कश्मीर PoK मा रहेका आतंकी शिविरहरूमा गरेको आक्रमण हो।
आज प्रधानमन्त्री मोदीले आफ्नो निवासमा उच्चस्तरीय सुरक्षा बैठकको अध्यक्षता गरेका थिए। बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान र तीनै सैन्य अंगका प्रमुखहरू सहभागी थिए। यसैबीच प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मूले बुद्धपूर्णिमाको अवसरमा देशवासीलाई शुभकामना दिएका छन्।
भारतीय मिडियाका अनुसार प्रधानमन्त्री मोदीले अमेरिकाका उपराष्ट्रपति जेडी वेन्सलाई कडा सन्देश दिँदै भनेका छन् यदि पाकिस्तानले पुनः उक्साउने प्रयास गर्यो भने भारतको प्रतिक्रिया झनै कठोर, शक्तिशाली र विनाशकारी हुनेछ।
संयुक्त राज्य अमेरिकाको पहलमा भारत–पाकिस्तानबीच युद्धविरामको घोषणा गरिएको केही दिनपछि प्रधानमन्त्री मोदीको सम्बोधन हुन लागेको हो। रातको सम्बोधनमा प्रधानमन्त्री मोदीले अप्रेसन सिंदूरको सफलताबारे हालको सुरक्षा परिस्थिति र भारतको भावी रणनीतिका बारेमा जानकारी दिने अपेक्षा गरिएको छ।