लम्कीमा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न, विद्यार्थीलाई सडक सुरक्षा र लागुऔषधबारे जानकारी

कैलाली — इलाका प्रहरी कार्यालय लम्कीले राष्ट्रिय नमुना माध्यमिक विद्यालय, मोतिपुरमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गर्दै सडक दुर्घटना, लागुऔषध दुर्व्यसन तथा समसामयिक सामाजिक विषयहरूमा आधारित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले विशेषगरी किशोर–किशोरीहरूमा बढ्दो सडक लापरवाही, लागुऔषध प्रयोग र त्यसको दुष्परिणामबारे सचेतना फैलाउने उद्देश्य राखिएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय लम्कीका प्प्रशिक्षकहरूले विद्यार्थीहरूलाई ट्राफिक नियम, मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्यता, सवारी साधनको गति नियन्त्रण, र पैदल यात्रुका लागि अपनाउनु पर्ने सावधानीबारे जानकारी गराएका थिए। साथै, विद्यालयस्तरीय लागुऔषध दुर्व्यसन नियन्त्रण, बालअपराध, जस्ता विषयमा पनि सचेतनामूलक प्रस्तुति दिइएको थियो।
विद्यालय प्रशासन र विद्यार्थीहरूले कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै यस्तो कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान र जीवनोपयोगी चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै प्रश्न–उत्तर सत्रमा समेत चासो देखाएका थिए।
यस प्रकारका कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने र अन्य विद्यालयहरूमा समेत विस्तार गर्ने इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।