E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कञ्चनपुरका राहुल बुढा ठगी अभियोगमा पक्राउ भारतीय गिरोहको मोहरा भएको खुलासा

काठमाडौं – कञ्चनपुरका २१ वर्षीय राहुल बुढा पछिल्लो समय काठमाडौंको अनामनगरमा सामान्य जीवन बिताइरहेका थिए। तर हालै ठगी अभियोगमा पक्राउ परेपछि उनीमाथि खुलेका रहस्यले सबैलाई चकित बनाएको छ।

अदालतमा पेश गरिएको अभियोग पत्रअनुसार, दशैंपछि भारत गएका राहुल मुम्बईमा भारतीय नागरिक देवल विद्युत शाह र दिनेश रमेश गुप्तासँग सम्पर्कमा आएका थिए। ती व्यक्तिहरूले नेपालमा व्यवसाय गर्न चाहेको भन्दै राहुलको नाममा कम्पनी खोल्न प्रस्ताव राखेका थिए। मासिक २० हजार रुपैयाँ दिने प्रलोभनमा परेर राहुलले *पशुपति ग्लोबल इनोभेसन प्रालि* नामक कम्पनी खोलेका थिए।

कम्पनीको नाममा करोडौँको फिशिङ ठगी
प्रहरी अनुसन्धान अनुसार भारतीय गिरोहले नेपालका बल्क एसएमएस सेवा प्रदायक AT\_Alert ह्याक गरी तपाईंको इसेवा खाता निलम्बन हुन लाग्यो भन्ने झूटो सन्देशमार्फत फिशिङ लिङ्क पठाएका थिए। लिङ्कमा क्लिक गर्ने प्रयोगकर्ताका इसेवा र बैंक खाता ह्याक भई पैसा निकालिएको थियो।

यसरी करिब ४ हजारभन्दा बढी प्रयोगकर्ताबाट जम्मा गरेर १ करोड २ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको खुलेको छ।

राहुलको खातामा ५० लाख, ८ लाख भारतीयलाई नगद बुझाएको स्वीकृति
प्रहरीले राहुलको नाममा खोलिएको बैंक खातामा ५० लाख ७५ हजार रुपैयाँ मौज्दात भेटिएको छ। राहुलले सो खाताबाट ८ लाख ३ हजार रुपैयाँ निकालेर भारतीय नागरिक देवल विद्युतलाई नगद बुझाएको स्विकारेका छन्।

राहुलले आफूले फिशिङ लिङ्क नपठाएको र ठगीमा प्रत्यक्ष संलग्न नरहेको दाबी गरे पनि अभियोजन पक्षले उनलाई प्रत्यक्ष लाभ लिएको भन्दै ठगी मुद्दा दायर गरेको छ।

ठगी मुद्दा धरौटीमा रिहा मुख्य आरोपी फरार
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गत सात वर्षसम्मको जेल सजाय र ७० हजार जरिवाना माग गर्दै मुद्दा दायर गरेको छ। साथै पीडितको बिगो भरपाई गर्नुपर्ने माग पनि गरिएको छ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले राहुललाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। तर प्रमुख आरोपी देवल विद्युत शाह दिनेश रमेश गुप्ता र राजु पाण्डे भने अझै फरार छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!