विद्युत् प्राधिकरणको खातामा शून्य मौज्दात १० अर्ब ऋण लिन सरकारलाई पत्र

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले शुक्रबार श्वेतपत्र जारी गर्दै संस्थाको आर्थिक अवस्था गम्भीर रहेको खुलासा गरेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा जारी श्वेतपत्र अनुसार प्राधिकरणको खातामा हाल नगद मौज्दात शून्य रहेको र १० अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण लिन सरकारले प्रक्रिया अघि बढाइएको हो।
शाक्यका अनुसार ६ खर्ब सम्पत्ति र नाफा देखिँदा पनि नगद अभावका कारण ऋण लिनु परेको हो। “यदि नगद मौज्दात हुन्थ्यो भने ऋण लिनुपर्ने थिएन,” उनले भने। उनले अल्पकालीन ऋणको ब्याज दर महँगो भए पनि तत्कालीन आवश्यकता भएको बताए।
श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ। यद्यपि, आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म कुल नाफा ४६ अर्ब ४७ करोड दाबी गरिएको छ। फागुन मसान्तसम्म भने नाफा ९ अर्ब ४८ करोड मात्र देखिएको छ। प्राधिकरणले अहिलेसम्म कुनै पनि वर्ष आयकर तिरेको छैन।
श्वेतपत्रमा उल्लेख भएअनुसार प्राधिकरणमा २ खर्ब ४८ अर्ब १२ करोड बराबरको दीर्घकालीन ऋण छ। जसमा ७७ अर्ब ८ करोड नेपाल सरकारको आन्तरिक स्रोतबाट र १ खर्ब ७१ अर्ब ४ करोड वैदेशिक दातृ निकायबाट जमानतमा लिइएको हो।
प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब पुगेको छ भने वित्तीय प्रतिबद्धता र सम्भावित दायित्व ६९ अर्ब ५७ करोड बराबर रहेको छ। न्यायिक तथा अर्ध न्यायिक निकायहरूमा विचाराधीन मुद्दाबाट उत्पन्न हुने सम्भावित दायित्व ८ अर्ब ४० करोड पुगेको छ।
२०८०/८१ सम्म प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको उल्लेख छ। जसमध्ये स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब र निर्माणाधीन आयोजना करिब २ खर्ब २० अर्बका छन्। नेपाल सरकारको सेयर लगानी २ खर्ब ६ अर्ब ७४ करोड रहेको छ भने कुल इक्विटी २ खर्ब ५९ अर्ब १० करोड पुगेको छ।