E-Paperअपराधदेशशीर्ष समाचारस्थानीय समाचार

कीर्ते कागजात कारखानामा प्रहरीको छापा मुख्य योजनाकारसहित ३ जना पक्राउ

काठमाडौं — सरकारी तथा बैंक वित्तीय संस्थाका कागजात नक्कली बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तारकेश्वर नगरपालिका–७ फुटुङमा रहेको नक्कली कागजात उत्पादन गर्ने कारखानामा बुधबार छापा मारी मुख्य योजनाकारसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा गोरखा भीमसेनथापा गाउँपालिका–१ का ४६ वर्षीय अन्जनी बयलकोटी ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुर कैलाश गाउँपालिका–२ छ्याङ्ढुङकी २३ वर्षीया अन्जु खत्री छन्।

एसएसपी रमेश बस्नेतका अनुसार मुख्य योजनाकार बयलकोटीले विगत ८ वर्षदेखि नक्कली कागजात बनाउने धन्दा चलाउँदै आएका थिए। उनले जग्गाधनी प्रमाणपूर्जा, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातदेखि बैंक तथा वित्तीय संस्थाका दस्तावेजहरू समेत तयार पार्दै आएका थिए।

बयलकोटीले फुटुङस्थित एक कोठा भाडामा लिएर दुई जना सहयोगीसहित नक्कली कागजात बनाउने काम गर्दै आएका थिए। उनले सहयोगीहरूलाई मासिक १०–१५ हजार रुपैयाँ तलब दिँदै आएको प्रहरीले जनाएको छ। उनीहरूले डिपेन्डेन्ट भिसाका लागि आवश्यक पर्ने म्यारिज सर्टिफिकेटसमेत बनाइदिने गरेको खुलासा भएको छ।

प्रहरीले घटनास्थलबाट ठूलो संख्यामा नक्कली डकुमेन्टहरू पनि बरामद गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!