भ्रष्टाचारको आरोपमा गृहमन्त्री लेखकको बर्खास्ती माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं – भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपसहित गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता मधु चौलागाइले मन्त्री लेखकको पदबाट बर्खास्तीको माग गर्दै रिट पेश गरेकी हुन्। रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतको प्रशासनले आइतबार निर्णय गर्ने जनाइएको छ।
गृहमन्त्री लेखकविरुद्ध भ्रष्टाचार र अनियमितताको आरोप पछिल्ला दिनमा तीव्र रुपमा उठिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसा कारोबार, घुस र अनियमिततामा मन्त्रीका सचिवालयकर्मी, स्वकीय सचिव तथा विभागीय अधिकारीहरूको संलग्नता रहेको खबर सार्वजनिक भइसकेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको मोबाइल फरेन्सिक परीक्षणका लागि लिई अनुसन्धान अघि बढाएको छ। आयोगका अनुसार, भिजिट भिसा कारोबारमार्फत दैनिक ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको असुली गरी सो रकम गृहमन्त्रीसम्म बाँडफाँट हुने गरेको प्रारम्भिक तथ्य भेटिएको छ।