आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो : जनार्दन शर्मा

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आतंकवादविरुद्धको लडाइँलाई हरेक राष्ट्रको कर्तव्य बताउँदै आपसी सहकार्य आवश्यक रहेको बताएका छन्।
भारतले पाकिस्तानविरुद्ध अपरेसन सिन्दूर नामक सैन्य अभियान सञ्चालन गरेको सन्दर्भमा शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन् भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ। आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक छ।
भारतले अप्रिल २५ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको बदलामा पाकिस्तानमाथि सैन्य कारबाही सुरु गरेको थियो। उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जना पर्यटक मारिएका थिए।
भारतले मंगलबार रातिदेखि ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानको सीमावर्ती क्षेत्रमा रहेको आतंकवादी संरचनामाथि लडाकु विमानद्वारा नौ स्थानमा एयर स्ट्राइक गरेको दाबी गरेको छ।
पाकिस्तानका प्रधानमन्त्रीले भारतको आक्रमणबाट ३१ जनाको मृत्यु र ४६ जना घाइते भएको स्वीकार गरेका छन्। साथै उनले भारतको कारबाहीको बदला लिने चेतावनीसमेत दिएका छन्।