समाजसेवी भरतराज जोशीद्वारा मानवसेवा लम्कीलाई नगद सहयोग

कैलाली : समाजसेवी तथा बुद्धिजीवी भरतराज जोशीले कैलालीको लम्कीचुहा नगरपालिका–१, पूर्वा लम्कीमा रहेको मानवसेवा लम्कीलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ। उहाँले संस्थामा आश्रित बालबालिका तथा मानव सेवाका लागि रु १०,००० (दस हजार) बराबरको चेक संस्थाका अध्यक्ष विनोद थापालाई हस्तान्तरण गर्नुभयो।
जोशीले सेवा र मानवीय भावना नै जीवनको सार रहेको उल्लेख गर्दै मानवसेवा लम्कीजस्ता संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले अझ धेरै व्यक्ति र संस्थाहरूले यस्ता सेवामूलक संस्थामा सहयोग गर्नुपर्नेमा जोड हो दिनुभयो।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय सामाजिक अभियन्ता, संस्थाका पदाधिकारी, र अन्य स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष विनोद थापाले जोशीको सहयोगप्रति आभार व्यक्त गर्दै मानवसेवा लम्कीको उद्देश्य र गतिविधिबारे जानकारी दिनुभयो।
मानवसेवा लम्कीमा हाल ३० जना बालबालिका, जसमा अशक्त, असहाय, अभिभावकविहीन बालबालिका तथा मानसिक रोगीहरू आश्रित रहेका छन्। संस्थाले उनीहरूको बसोबास, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता पुरा गर्ने कार्य गर्दै आएको छ।
अध्यक्ष थापाका अनुसार संस्थालाई दैनिक सञ्चालन र आवश्यक सेवा प्रवाहका लागि अझै धेरै सहयोग आवश्यक छ। उहाँले सबै समाजसेवी, संघसंस्था तथा दाताहरूसँग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। जोशीको यो सहयोगले संस्थाका बालबालिका तथा सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पुग्ने संस्थाले जनाएको छ।
स्थानीय समुदायले यस्ता सेवामूलक संस्थामा सक्रिय सहभागिता र सहयोगको भावना विकास गर्नु आजको आवश्यकता भएको जोशीको भनाइ थियो।