पुजारी पन्तको विद्रोही कर्मकाण्ड दलित बस्तीमै विधिपूर्वक पूजा सामाजिक बदलावको सन्देश

बैतडी – बैतडीका एक ज्योतिष पण्डितले दलित समुदायका घरघरमा धार्मिक कर्मकाण्ड गर्दै समाजमा गहिरो रूपमा जरा गाडेको जातीय विभेद र सांस्कृतिक कुरीतिहरू हटाउने अभियान थालेका छन्।
पाटन नगरपालिका–८ खोड्पेका ज्योतिष पण्डित गणेशप्रसाद पन्तले दलित बस्तीमा अहिलेसम्म २२ वटा सप्ताह, ११ वटा शिवपुराण, ५१ वटा लघु रुद्राभिषेक, न्वारन, व्रतबन्ध, विवाह, वास्तु पूजा, गृहप्रवेशलगायत सयभन्दा बढी धार्मिक कार्य गरिसकेका छन्।
पन्त बैतडीको प्रसिद्ध वनारसीधामका पुजारीसमेत हुन्। शुक्रबार दशरचन्द नगरपालिका–८ त्रिपुरास्थित पूर्व प्रहरी उपरीक्षक तथा अधिवक्ता गोविन्दराम परियारको नयाँ घरको गृहप्रवेश पूजा विधिपूर्वक सम्पन्न गरेर उनले फेरि एकपटक उदाहरण प्रस्तुत गरेका छन्।
उनले यसअघि आचार्य कृष्ण दमाईंलाई जनै धारण गराएर पशुपतिमा कोटी होमको व्यासका रूपमा प्रवचन दिलाइसकेका छन्। उनले धर्मग्रन्थहरूमा दलित र महिलामाथि विभेद नरहेको स्पष्ट पार्दै धार्मिक अगुवाहरूले नै छाउपडी प्रथा र जातीय भेदभाव हटाउन अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।
सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, व्रतबन्ध गर्दैनन् पन्तले भने चिहान घाटमा समेत जातीय विभेद हुन्छ। त्यसैले मैले यस्तो कुरीति हटाउने अभियान थालेको हुँ।
पन्तले अथर्ववेदलाई ‘दलितको वेद’ भनेर अपमान गरिने परम्पराको विरोध गर्दै भने मोबाइल, टिभी, गाडी, हवाईजहाज सबै अथर्ववेदकै ज्ञानबाट बनेका हुन् तर त्यही ज्ञानलाई अपमान गर्ने प्रवृत्ति गलत हो।
उनको यो अभियानले केही पुख्र्यौली यजमान गुमाएका छन्। सामाजिक सञ्जालमा गालीगलौज पनि सहनुपरेको उनी बताउँछन्। धेरै यजमान छुटेपछि जीविका चलाउन श्रीमतीले गाई पालेर दुध बेच्न थालेकी छन् पन्तले भने तर म धर्म र कर्मबाट विचलित भएको छैन।
उनले जीविका चलाउन गाईसँगै बाख्रापालनसमेत गरेका छन्। उनका दुई छोरामध्ये एक पिथौरागढको गौरीशङ्कर संस्कृत महाविद्यालयमा शास्त्री अध्ययनरत छन् भने अर्का छोरा कक्षा १२ मा छन्।
ज्योतिष पण्डित पन्तको यो अभियानले जातीय समानता धार्मिक समावेशिता र सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण सन्देश दिइरहेको छ।