धनगढीमा तीन दिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धनगढी — प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो एक्यबद्धता, मानव अधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारिता भन्ने नारासहित धनगढीमा तीन दिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु भएको छ। तालिम नेपाल जनपत्रकार संगठन सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सुरु गरिएको हो।
तालिमको उद्घाटन कार्यक्रम नेपाल जनपत्रकार संगठनकी केन्द्रीय सदस्य पुष्पा सीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका थाई कमिटी सदस्य सुदूरपश्चिम प्रदेश इन्चार्ज रणवीर सी हुनुहुन्थ्यो। उहाँले कार्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गर्नुभयो।
तालिम आजदेखि सुरु भई यही बैशाख २९ गतेसम्म सञ्चालन हुने छ। पहिलो दिन धनगढीस्थित एसपीए कलेजमा सञ्चालन भएको तालिम भोलिदेखि इमेज होटलमा सर्ने जानकारी आयोजकले दिएको छ।
तालिममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका दुई दर्जनभन्दा बढी सहभागिता रहेको छ। आजको तालिम सत्रमा समाचार लेखनका तरिका, समाचारको अर्थ र परिभाषा, समाचारका अवयव, समाचारका प्रकारहरू साथै सूचना प्रविधि र पत्रकारिता बीचको सम्बन्ध तथा सूचना प्रविधिका फाइदा र बेफाइदाबारे प्रशिक्षण दिइएको थियो।