१३ वर्षमा पनि अधुरो कमला पुल लुम्बिनी बिल्डर्ससँगको ठेक्का तोडिने तयारी

सिरहा — हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जिल्लालाई जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कमला पुल निर्माणको काम फेरि ठप्प भएको छ। निर्माण कार्य लुम्बिनी बिल्डर्सले रोकिएपछि योजना कार्यालय जनकपुरले ठेक्का सम्झौता रद्द गर्ने तयारी थालेको छ।
निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोका अनुसार निर्माण कम्पनीलाई २०७८ सालको असार मसान्तसम्म पुल पुनर्निर्माण सम्पन्न गर्ने अन्तिम मौका दिइएको थियो। तर पछिल्लो महिनादेखि काम पूर्ण रूपमा बन्द भएपछि कानुनी परामर्शसहित सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।
पुल निर्माणका क्रममा दुईवटा पाएर भासिएपछि लुम्बिनी बिल्डर्सले बीमा दाबी गर्दै ८ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो। बीमा कम्पनीसँगको विवादले मुद्दा उच्च अदालत पाटन पुगेको छ। मुद्दा विचाराधीन रहेकाले अहिले निर्देशनालय कानुनी सल्लाहमा छ।
कम्पनीको भनाइ अनुसार बाढीबाट भएको क्षति बीमाबाट रकम नपाएपछि आर्थिक अभावका कारण काम रोक्नुपरेको हो। लुम्बिनी बिल्डर्सका साइट इञ्चार्ज सुदीप थापाले अदालत जानुको बाध्यता त्यही भएको स्पष्ट गरे।
यो आयोजनाको सुरुवात २०६८ सालमा पप्पु कन्स्ट्रक्सनले गरेको थियो। तीन वर्षमा सक्ने भनिएको काम पप्पुले अलपत्र पार्दा कम्पनी कालोसूचीमा पर्यो। त्यसपछि बाँकी काम लुम्बिनी बिल्डर्सले जिम्मा लिए पनि १३ वर्ष बितिसक्दा पनि पुल अझै अधुरै छ।
स्थानीय नागरिकको समस्या अझै उस्तै छ। वर्षायाममा काठेपुल बगाउँछ र जोखिमपूर्ण डुङ्गा वा लामो घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्छ। सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार भारतीय बजार हुँदै वा मिर्चैया ढल्केबर हुँदै तीन घण्टासम्मको यात्रा गर्नुपर्ने बाध्यता छ।
तराई–मधेसको लाइफलाइन मानिएको हुलाकी सडकको यो खण्ड मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको महत्वपूणर् पुल हो। तर दशक लामो ढिलासुस्तीले यसले आफ्नो प्रभावकारिता गुमाइरहेको छ ।