रानी जमरा नहरमा हामफालेका बंगलादेशी युवक सकुशल उद्धार

चिसापानीदेखि लम्की आउँदै गर्दा केही स्थानीय व्यक्तिले रानी जमरा कुलरिया सिचाइ आयोजना अन्तर्गतको नहरमा एक जना व्यक्ति हाम फालेको दृश्य देखिएको थियो। स्थानीय प्रत्यक्षदर्शी र इलाका प्रहरी कार्यालय चिसापानीको सक्रियतामा ती व्यक्तिलाई सकुशल उद्धार गरिएको छ।
उक्त व्यक्ति मानसिक सन्तुलनमा केही समस्या रहेको बताइएको छ। उहाँको नाम अमन बर्मन उमेर २७ वर्ष स्थायी ठेगाना बंगलादेश भएको जानकारी प्राप्त भएको छ। उनका पिताको नाम ब्यांगा बर्मन र आमाको नाम बसन्ती बर्मन बताइ रहेका छन।
अमन बर्मनलाई यसअघि पनि मानवसेवामा राखिएको थियो तर त्यहाँबाट भागेका थिए। पुनः उद्धारपछि अहिले उहाँलाई लम्कीचुहा अस्पतालमा प्रारम्भिक उपचार गराई फेरि मानवसेवा लम्कीमा राख्ने तयारी गरिएको छ।
मानवसेवा लम्कीले विगतदेखि नै मानसिक सन्तुलन गुमाएका, बेसहारा तथा जोखिममा परेका व्यक्तिहरूको उद्धार तथा संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको छ। संस्थाका प्रतिनिधिहरूले अमन बर्मनलाई पनि आवश्यक सहयोग प्रदान गरिने बताएका छन्।
उक्त उद्धार कार्यमा नगर प्रमुख सुशीला साहीको पहलमा एम्बुलेन्स पठाइ सहयोग गरिएको थियो। उद्धारमा स्थानीयको चाँडो प्रतिकृया, प्रहरीको सक्रियता र स्थानीय सरकारको समन्वय महत्वपूर्ण रह्यो।
यस नहरबाट विगतमा पनि धेरै व्यक्तिहरूले ज्यान गुमाउँदै आएको हुँदा स्थानीय, प्रदेश तथा संघीय सरकारको गम्भीर ध्यानाकर्षण आवश्यक भएको स्थानीयवासीको भनाइ छ।