E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

तीन वर्षअघि बनेको अत्तरियाको कल्भर्ट अझै प्रयोगविहीन

कैलाली – कैलालीको अत्तरियामा तीन वर्षअघि निर्माण गरिएको कल्भर्ट अझैसम्म पनि प्रयोगमा आउन सकेको छैन। पूर्व–पश्चिम राजमार्ग विस्तार परियोजनाअन्तर्गत सडक डिभिजन कार्यालय महेन्द्रनगरमार्फत निर्माण गरिएको उक्त कल्भर्टको दुवैतर्फ भरानको काम अधुरो छोडिएकोले सञ्चालनमा आउन नसकेको हो।

२०७९ सालमा अत्तरिया बजार क्षेत्रका तीन स्थानमा – पूर्व रोड, पहाड रोड र महेन्द्रनगर रोडमा – कल्भर्ट चौडा गर्न चन्द ग्रुप सप्लायर्ससँग करिब डेढ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। निर्माण सम्पन्न भए पनि पूर्व रोडमा बनेको कल्भर्टको दायाँबायाँ माटो भरान नहुँदा प्रयोगविहीन बनेको छ।

सडक डिभिजनले पुरानो कल्भर्ट रहेकै स्थानमा दुवैतर्फ ४–४ मिटर चौडाइ थप गरेको भए पनि भरान नहुँदा सडकमा असन्तुलन सिर्जना भएको छ। स्थानीय बासिन्दा जयन्ती बिकका अनुसार, कल्भर्ट हेर्नका लागि मात्रै बनेको जस्तो देखिन्छ। “सडक साँघुरो भयो भनेर बनाएको होला तर झन् अस्तव्यस्त बनाइयो,” उनले भनिन्।

कल्भर्टको प्रयोग नहुनुका कारण दुर्घटनाको जोखिम पनि बढेको छ। बजार क्षेत्रमा रहेको उक्त कल्भर्ट नचलेपछि सवारी साधन चलाउनेहरू जोखिममा छन्।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिस प्रसाद जोशीले भने हालको अवस्थाबारे अपडेट नभएको भन्दै कारण बुझेर मात्र टिप्पणी गर्न सकिने प्रतिक्रिया दिए।

पूर्व–पश्चिम राजमार्गको अत्तरियादेखि बुटवलसम्मको भागमा सडक चौडा गरिएको भए पनि पश्चिमतर्फ २ लेनको मात्र सडक छ। हाल कञ्चनपुरको गड्डाचौकीदेखि चिसापानीसम्म ४ लेन विस्तार गर्ने योजना रहेको बताइए पनि काम कहिलेदेखि सुरु हुने भन्ने अनिश्चित छ।

हाल सवारी चाप बढ्दो छ तर राजमार्ग साँघुरो र खाल्डाखुल्डी युक्त हुँदा यात्रुहरूलाई असहज यात्रा गर्नु परिरहेको छ। सडक विस्तारका योजना हुँदाहुँदै पनि निर्माणको अधुरोपनले जनताको दुःख घट्नेभन्दा बढ्ने स्थिति बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!