रार्ष्ट्रिय दलित आयोगका प्रवक्ता पुर्कुटी र संस्कारशिरोमणि पण्डित पन्तबीच विशेष भेट

काठमाडौँ – रार्ष्ट्रिय दलित आयोगका केन्द्रीय प्रवक्ता माननीय सुन्दर पुर्कुटी र संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकारबीच हालै एक विशेष भेटवार्ता सम्पन्न भएको छ। भेटमा सामाजिक समरसता, जातीय समानता, संस्कार र संस्कृतिको संरक्षण तथा प्राचीन धार्मिक मूल्यमान्यता विषयमा गहिरो छलफल भएको थियो।
पण्डित पन्तले सो अवसरमा आफूलाई समाजका सबै वर्गबाट निरन्तर साथ र समर्थन मिलिरहेको जनाउँदै धर्म, संस्कार र शास्त्रीय चेतनाको माध्यमबाट जातीय समरसता प्रवर्द्धन गर्न आफू निरन्तर लागिरहेको जानकारी दिए। साथै उनले दलित समुदायसम्बन्धी थुप्रै पुस्तकहरूको प्रकाशनमा सरकारले पनि प्रत्यक्ष सहयोग पुर्याएको कुरा उल्लेख गरे।
उनका अनुसार दलित समुदायको सांस्कृतिक र ऐतिहासिक योगदानलाई उजागर गर्ने थुप्रै पुस्तकहरू तयार भएका छन्। जसमध्ये “शिल्पा समुदायको बृहत इतिहास” शीर्षकको पुस्तक दानबहादुर विश्वकर्मा कोलीद्वारा लेखिएको हो। त्यसैगरी रैथाने दमाई जातिको लोकजीवनबारे लेखिएको अर्को पुस्तक र “कर्णाली शिल्पा दलित समुदायको सामाजिक सांस्कृतिक सम्पदा” शीर्षकको पुस्तक डा. मानबहादुर बोकेद्वारा लेखिएको जानकारी पनि उनले दिए।
पन्तका अनुसार यस्ता पुस्तकहरूले दलित समुदायको जीवनशैली, परम्परा, शिल्पकला र सामाजिक सम्पदाको संरक्षणमा अत्यन्त महत्वपूर्ण भूमिका खेलेका छन्। उनले भने प्राचीन समयमा कुनै जातीय विभेद थिएन अहिले पनि हुनुहुँदैन। धर्मशास्त्र र वैदिक दर्शनले सबैलाई समभावको शिक्षादिन्छ।
प्रवक्ता पुर्कुटीले पनि धर्म, संस्कृति र समानताको सन्दर्भमा पन्तसँग सहमति जनाउँदै यस्ता विद्वानहरूको अनुसन्धान र योगदान समाज रूपान्तरणको दिशामा प्रेरणादायी रहेको उल्लेख गरे। यो भेटवार्ता जातीय समावेशिता, सांस्कृतिक उत्थान, सामाजिक न्याय तथा नीतिगत सुधारको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ।