धनगढीमा जुवातास खेल्दै गरेका १२ जना पक्राउ नगद र तास बरामद

धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले न्यु लामिछाने कन्ट्रक्सन कम्पनीको भित्री कोठामा जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा छापा मारेको थियो। छापाको क्रममा एक लाख ३१ हजार एक सय ८० रुपैयाँ नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१ का ३१ वर्षीय सन्तोष कामी, वडा नं. ८ का ६२ वर्षीय जयबहादुर कार्की, वडा नं. १ का ४२ वर्षीय रमेश साउद, ३५ वर्षीय पुष्प बिष्ट, वडा नं. ५ का ४१ वर्षीय लालबहादुर केसी, वडा नं. ७ का ३६ वर्षीय खडकबहादुर शाही, वडा नं. ६ का ३२ वर्षीय भुवन बोहरा, वडा नं. ८ का ४२ वर्षीय भरत बिक, वडा नं. १ का ३४ वर्षीय कृष्ण कुँवर, वडा नं. ८ का ५० वर्षीय तुलाराम बिष्ट, वडा नं. १ का ३४ वर्षीय राजेन्द्र साउद र वडा नं. ८ का ५२ वर्षीय नन्दलाल राना रहेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।