बागलुङ जीप दुर्घटना चार जनाको मृत्यु १२ घाइते

बागलुङको ढोरपाटनमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। ढोरपाटन नगरपालिका–५ बतासे डाँडामा लु.प्र.०१–००१–१७७५ नम्बरको जीप सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ढोरपाटन–२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए। कार्की र बुढाको मृत्यु बुर्तिवाङ अस्पतालमा, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरको मृत्यु पोखरा लैजाँदै गर्दा बाटोमै भएको हो उनीहरूको शव हाल बुर्तिवाङ अस्पतालमा राखिएको छ।
दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ। दुई जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। जीप बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक हुँदै सहीखोलातर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।