पर्वतमा जीप दुर्घटना १५० मिटर तल खस्दा एकको मृत्यु दुई घाइते

पर्वत जिल्लाको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जीप अनियन्त्रित भई करिब १५० मिटर तल खस्दा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका क्षेत्रीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा लगिएको थियो जहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र फलेवास–८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। उनीहरूको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताएका छन्।